Search This Blog

Monday, December 3, 2012

एकादेशको कथा

              एकादेशमा एक जना व्राह्मण थिए । उनी भक्तपुर शहरको टौमढी टोलमा वस्दथ्यो । उनी कला कौशलले भरीपूर्ण देश भक्तपुरको राज गुरु पनि थिए । उनी दिनहुँ विहान सबेरै उठी घर छेवैको इनारमा गई आफ्नोतन्त्र शक्तिले भारतको वाराणशीमा रहेको काशी पुगी त्यहाँ रहेको अरुण र बरुण नदिको संगममा स्नान गरी त्यहीं नजिकको भैरवनाथको दर्शन गरि तुरन्तै भिजेको धोति निचोर्दै आफ्नो घर भक्तपुरको टौमढी टोलमा फर्कन्थे । त्यसपछी उनी क्रमशः पूजाकोठामा, आँगन घरमा र विभिन्न मठ मन्दिरहरुमा गई नित्य पूजाहरु गर्दथे । यस विभिन्न मठ मन्दिरहरुमा साधारण पूजाहरु देखि लिएर तान्त्रोक्त विधिले समेत पूजाहरु नित्य उनी आफैले गर्नु पर्ने भएकोले उनलाई भ्याई नभ्याई हुन्थ्यो । त्यसैले उनले आफुले जानेको तन्त्रविद्यालाई आफ्ना योग्य आज्ञाकारी शिष्य यजमानहरुलाई पनि सिकाई राखेको थियो जस्ले गर्दा आफु जान नसकेको ठाउँहरुमा ती तान्त्रिक चेला ( आचाजु ) हरुलाई पठाई गरीनु पर्ने नित्य पूजाहरु नित्य अविछिन्न गर्ने व्यवस्था पनि उनले मिलाई राखेको थियो । त्यस्तै उनको यजमानहरु पनि देशको राजा देखि लिएर देश देशावरमा रहेको सर्वसाधारण सम्म पनि थियो त्यसैले उनी यजमानहरु कहाँ वेला वेलामा कर्मकाण्ड तथा धार्मिक अनुष्ठानहरु गराउनुको लागी जानु पनि पर्दथ्यो । त्यस्तै विहान नित्य पूजा गरेको मठ मन्दिरहरुमा साँझको आरती पनि गर्नु पर्ने हुँदा उनलाइ यसो गर्दा गर्दै उस्को रात पनि परी सक्दथ्यो । यसरी नै उनको दिन चर्या वित्दै थियो ।
              एक दिनको कुरा हो उनी आफ्नो नित्य कर्म सकि नालाको एक यजमान कहाँ श्राद्ध गराउने सिलसिलामा पुगेछ । विधिवतरुपमा यजमानलाई श्राद्ध पनि गराएछ । उस्को तन्त्रविद्याको चेलो समेत रहेको यजमानले श्राद्धमा गरिनु पर्ने कार्यहरु विधिवतरुपमा गर्दै गएछ । यस्तैमा यजमानको कुल परम्परा अनुसार त्यो दिनको तिथिमा श्राद्धको अन्तिम चरणमा गर्नु पर्ने एक गोप्य तान्त्रिक पूजाको लागि ऊ र यजमान मात्रै माथील्लो तल्लाको गोप्य पूजाकोठामा पुगेछ । श्राद्धको नै अन्तिम चरणमा गोप्य गरि गर्नु पर्ने पितृ तर्पणको कार्य त्यहाँ भएछ । यसरी विधिवतरुपमा श्राद्धको कार्य सकिएछ । त्यसपछी ऊ र यजमान मात्रै रहेको सो गोप्य कोठामा उनीहरु विच साधारण सन्चो विसन्चोको अनि प्रगति दुर्गतिको कुराहरु भएछ । सोही सिलसिलामा तन्त्रविद्याको गुरु चेला समेत रहेको यीनीहरु बिचमा तन्त्रविद्या संग सम्वन्धित कुराहरु पनि भएछ । उस्ले ‘‘तन्त्रविद्यामा कस्तो प्रगति भई रहेको छ त ?” भनि चेला संग जिज्ञासा राखेछ । चेलो पनि तन्त्रविद्यामा पारंगत नै थिए । त्यसैले आफ्नो गुरुलाइ तन्त्रविद्याको प्रगति मुखले भन्नु भन्दा तन्त्र शक्ति प्रत्येक्षरुपमा नै अवलोकन गराउने मनसायले आफुले दिनहुँ हेरी मनोरञ्जन लिई रहेको हाल सालै मात्र प्राप्त गरेको तान्त्रीक देबी देवताहरुको नृत्य गुरुलाई देखाउने मनशायले ती देबी देवताहरुको आह्वान गर्न गुरु संग अनुमति मागेछ । गुरुले अनुमती दिनु भन्दा अगाडि ‘‘तिमीले कुन देबताको आह्वान गर्न लागेको र यी देबी देवताहरुलाई तिमीले कसरी वशमा ल्यायौ त ?” भनि चेलो संग सोधेछ । तव चेलो आचाजुले भनेछ ,‘‘गुरुवर अस्तीन मात्रै म एक्लै एउटा काम विशेषले जंगलको वाटो हुँदै गई रहेको थिएँ । अकस्मात कुनै देबी देवताहररु आई मलाई समाती,‘‘यस वाटो हुँदै जाने जो कोही वाट दिनको एक जना मान्छेको नरबली हामीहरुले लिई रहेको छौं । आज तिम्रो पालो परेछ त्यसैले अब तिमी तयार होऔ” भनी झन्दै मेरो प्राण हरण गर्न लागेको थियो । मेरो काल वनि यी देबी देवताहररु आफ्नो सामु आएको देख्दा एक क्षण त म अत्तालिएको थिएं । तर आफ्नो मनलाई अत्तालिन नदिई निडर बनि ती देबी देवताहरुलाई विनम्र पुर्वक भने,‘‘हे ईश्वर तपाँईहरुको दर्शन पाएर म एकदमै खुशी भएँ । अझ तपाँईहरुको ईच्छा मुताबिक आफ्नो देह तपाँईहरुमा समर्पण गर्न पाउनु त मेरो अहो भाग्य हो । त्यसैले आफ्नो प्राण त्याग्नु भन्दा पहीले मैले तपाँईहरुको एक पटक राम्रो संग पूजा गर्न पाउँ ।” यसो भन्दै दुबै हात जोडी नतमस्तक हुँदै प्रार्थना गरेँ । अनि ती देबी देवताहरुले मलाई आफ्नो पूजा गर्न अनुमति दिए । तब मैले तान्त्रोक्त विधिले गुरुवरले सिकाए जस्तै गरी ती देबी देवताहरुको पूजा गरेँ । मेरो पूजा थापी सके पछि ती देबी देवताहरु अत्यन्तै खुशी भई वरदान माग भने । मैले ‘‘संधै तपाँईहरुलाई यसरी नै तान्त्रोक्त विधिले पूजा गरी रहन पाउँ ।” भनि वरदान मागेँ । मेरो चलाखी पुर्ण वर सुनी ती देबी देवताहरु मुस्काउँदै राजि हुँदै आज्ञा गर्नु भयो ,‘‘ल त्यसो भए हामीहरु सबैलाई तिम्रो घरको एउटा गोप्य कोठामा वस्ने वन्दो वस्त मिलाउ त ।” यस प्रकार प्राप्त गरेको यी देबी देवताहरुको दर्शन हजुरलाई पनि गराउने ईच्छा लागेको छ गुरुवर ! अनुमति पाउँ ।” चेलोको कुरा सुनी यी नरबली लिने कुन देबी देवताहरु हो एक चोटी हेरी हालुं न त भन्ने मनसाय लिई चेलो लाई अनुमति दिएछ । अनुमति पाउनु वित्तिक्कै उस्ले तान्त्रिक अनुष्ठान गरि देबीदेवताहरुको आह्वान गरेछ । देबीदेवताहरु पनि एक एक गर्दै धेरै नै देबी देवताहरु उत्पत्ती भई विभिन्न मुद्रामा नृत्य देखाउँदै गरे । ठूला ठूला रंगी विरंगी जामा लगाएका, शीरमा झलमल्ल चम्कीलो मुकुट धारण गरेका, ठूला ठूला लोभ लाग्दो हेरि रहुं जस्तो मनमोहक मुहार भएका, विभिन्न गर गहनाले शुशोभित यी देबी देवताहरु यता वाट उता अनि उता वाट यता दौदंदै उफ्रदै विभिन्न भाव भंगीमा नृत्य देखाउँदै गए । अझ रमाईलो र महत्वपूर्ण कुरा त यी देबी देवताहरु संग साधारण मान्छे संग जस्तो प्रत्यक्षे कुराकानी पनि गर्न सकिंदो रहेछ । यसरी उस्ले आफ्नो चेलाले तन्त्रविद्यामा गरेको प्रगती प्रत्येक्ष रुपमा नै अबलोकन गरेछ । आफ्नो चेलाले तन्त्रविद्यामा यती राम्रो प्रगती गरेको देखि ऊ साह्रै नै खुशि भए ।
              यसरी यी दुई गुरु र चेला तान्त्रिकहरु देबी देवताहरुको नृत्य हेर्दै वसि रहे । यस्तैमा आफ्नो घरमा श्राद्धको प्रसाद ग्रहण गर्न आएका पाहुनाहरुको स्वागत सत्कार गर्न यजमान केहि क्षणको लागी तल तिर झरे । अव गुरु मात्रै एक्लै त्यो पूजाकोठामा देबी देवताहरु संग एक मित्र संग गरे जस्तै वार्तालाप गर्दै देबी देवताहरुको नृत्य हेर्दै गरेछ । देबी देवताहरु संग वार्तालाप गर्दा गर्दै उस्को मनमा एक लोभ पलाउँछ । देबी देवताहरुलाई आफु संगै नाला वाट भक्तपुरमा लैजाने । किन भने देबी देवताहरु भनेको कुनै एक व्यक्तिको निजी मनोरञ्जनको साधन हुनु हुंदैन । जुन् नहुनु पर्ने काम यहाँ यजमानको घरमा भएको उस्लाई अनुभव भई रहेको थियो । त्यसैले ऊ मनमनै सोच्छ ‘‘यी देबी देवताहरुलाई म कहाँ लान पाए त ...! म यो देबी देवताहरुको माध्यमवाट धेरै नै लोकहितकारी कार्य गर्न सक्षम हुने थिएँ । साँच्चै यस्तो गर्न पाए त देबी देवताहरुको पनि उचित सम्मान हुने र भक्तपुरको जनताको पनि दुःख कष्ट निवारण गर्न पनि सजीलो हुने थियो । अझ भक्तपुरमा नै यी देबी देवताहरुको निम्ती सदाको लागी वास वस्ने व्यवस्था गरी दिनहुं सेवा गर्न पाए त राज्यको तथा अन्य धेरै नै समस्याहरुको समाधान समेत यी देबी देवताहरु संग प्रत्येक्ष भलाकुसारी गरी निकाल्न सकीन्थ्यो । मातृ भुमिको पनि सेवा गर्ने प्रसस्त ठाउँ पाउने थिएँ ।” भक्तपुरको राजाको राजगुरु समेत रहेको उस्ले आफ्नो लागी भन्दा पनि भक्तपुरेहरुको नै हितको लागी पनि यी देबी देवताहरुआफुलाई अत्यन्तै आवश्यक रहेको महशुस गरेछ । त्यसैले उस्ले व्यक्तिगत स्वार्थ भन्दा लोकहितार्थको लागी पनि यी देबी देवताहरु भक्तपुरमा जसरी भए पनि लानु नै पर्ने ठहर गर्दै लाने उपाए सोच्न थालेछ । लाने त लाने तर कसरी लाने ? यजमानलाई सोधी उस्को अनुमती लिई लैजाउँ भने फेरि यी स्वार्थी यजमानले संधै दर्शन गरी नृत्य हेरी मनोरञ्जन लिई राखेको देबी देवताहरुलाई सजीलै कसरी लग्न देला ? उस्लाई शंकै लाग्छ । माग्दा वचनमात्र खेर जाने र पछी तन्त्रशक्तिले कसैले कतै लान पनि नमिल्ने वनाई दियो भने त .... ? सोच्दा सम्म पनि उस्को मीठो सपना सवै भटाभुङ्ग हुन्छ । उस्लाई के गरुँ के गरुँ भई मनमा अनेक किसीमको अन्तर द्वन्दहरुचल्दछ र अन्त्यमा यजमानले थाहै नपाउने गरी जसरी भए पनि सुटुक्कै लाने ढृद निश्चय गर्दछ । यसरी उस्को मनमा रहेको लोक हितकारी लोभले पराकाष्ठ नाघ्दछ र जस्लाई मूर्त रुप दिनको लागि उस्ले सोझा देबी देवताहरु माथी एउटा छल गर्दछ ।
              कुरा गर्दै नृत्य हेर्दै रहेको व्राह्मणले कुराको सिलसिला मिलाउँदै देबी देवताहरुले उस्को मनको योजना पत्तै नपाउने गरी एक वाचा गराउँदछ । जुन वाचा अनुसार देबी देवताहरु सवै केहि समयको लागी सानो वनि संगै रहेको एउटा कलःमा (पूजाको थाली जस्तै विर्को भएको भाँडोमा) वस्नु पर्ने हुन्छ । जुनसुकै भेष र रुपमा परीणत हुनसक्ने यी देबी देवताहरुको लागी यस्तो गर्नु कुनै गाह्रो काम थिएन । व्राह्मणको मनमा रहेको लोभको वारेमा अनभिज्ञ रहेको यी सोझा देबी देवताहरु व्राह्मणको क्षणिक उत्सुकता मात्र थानी तत्काल त्यसो गर्दछ । देबी देवताहरु सवै एउटा कलःमा वसेको देखि उस्ले हतपत कलःको विर्को वन्द गरी दिन्छ र आफ्नो तन्त्रशक्तिले कलः वाट देबी देवताहरु अन्त कतै जानै नसक्ने पनि वनाई दिन्छ । यसरी देबी देवताहरु कलःमा वन्दी वन्दछ । तल पाहुनाको सत्कार गर्न पुगेको यजमान केही समय पछि माथी पूजाकोठामा पुग्दछ । त्यहाँ कोठामा आफ्ना गुरु मात्र देखि अघि नृत्य गरी रहेका देबी देवताहरु कोही नदेख्दा गुरुले नै विसर्जन पूजा गरेकोले देबी देवताहरु सबै लोप भै सकेको होला भन्ठानेर यजमान पूजाकोठा वन्द गरी दुवै तल तिर झर्दछ । त्यस पछि यजमान आफ्नो नोकर चाकरहरु संगै श्राद्धमा दान गरेको सामानहरु व्राह्मणको घरमा पुर्याउनको लागी तयारी गर्दछ । यस्तैमा व्राह्मण माथी पूजाकोठामा राखेको कलःलाई पनि सोही सामान संग आफ्नो घरमा राख्न पठाउन आग्रह गर्दै आफु आफ्नो घर भक्तपुर तिर लाग्दछ । यजमान पनि आफ्नो पुरोहितको आग्रह अनुसार सो कलःलाई लिन फेरी पूजाकोठामा गई सो कलः लिई श्राद्धमा दान गरेको सामान संगै राखि व्राह्मणको घर भक्तपुरमा पुर्याउन एक जना नोकरलाई खटाउँदछ ।
            श्राद्धको प्रसाद ग्रहण गर्न आएका पाहुनाहरुको अतिथि सत्कार मै भ्याई नभ्याई रहेको यी यजमानलाई सो कलःमा के रहेको छ ? किन पुरोहीत वाजेले सो कलः नै मागे ? आदि प्रश्न गर्न र हेर्न सम्म पनि फुर्सद रहंदैन । पछि फुर्सदमा पुरोहित वाजे संग सोधौंला भन्ने मनसाय लिई ऊ अतिथि सत्कार मै अल्मलिई रहन्छ ।
              यता व्राह्मण नालावाट आफ्नो घर भक्तपुरमा आईपुग्दछ । केहि समय पछि अघिको सामानहरु पनि यजमान कहाँ वाट आईपुग्दछ । जस्मा कलः पनि राखेको देखि सो कलःलाई तुरन्तै आफ्नो आँगन घरको गोप्य पूजाकोठामा लगी आफ्नो तन्त्र शक्तिले बाँधेको फुकाली देबी देवताहरुलाई पहिलेकै अवस्थामा ल्याई पुर्याउँदछ । त्यस पछि देबी देवताहरु संग विन्ती भाव गर्दै आफुले यस्तो गर्नु परेको कारण सवै देबी देवताहरु संग खुलस्त पार्दै क्षमा माग्दछ । साथै ‘‘संधै भरी तपाँईहरुको मैले सेवा गर्न पाउँ” भन्दै अव देखि संधै यहीं नै वास वस्न पनि अनुनय विनय गर्दछ । व्राह्मणको यस्तो मनसाय र विनम्र आग्रह सुनी देबी देवताहरु राजि हुंदछ । तर,‘‘यदि कसैले आफुकहाँ आउन आग्रह गरे हामीहरु जानु नै पर्दछ । त्यसैले सदा यहिं नै वसी राख्ने भन्ने कुरा हामी देबी देवताहरुको लागी संभव छैन ।” भनी आफ्नो लाचारी पनि ब्यक्त गर्दछ । तर व्राह्मणको विशेष अनुरोध स्वीकार्दै देबी देवताहरुले एउटा सल्लाह दिन्छ कि ‘‘यदि तिमीले हामीहरुलाई कसैले नदेख्ने गरी यहाँ राख्न सक्छौ भने यो कुरा केहि हद सम्म संभव हुन सक्छ । ” यसरी देबी देवताहरुको लाचारी र समाधान सुनी ‘‘ आईन्दा अव कसैले पनि तपाँईहरुको यहाँ वास छ भनेर देख्ने त के सूँईको सम्म पनि पाउन नसक्ने व्यवस्था गरी राख्दछु । ”भन्दै व्राह्मण पनि यो कुराको वचन देबी देवताहरुलाई दिंदछ ।
Photo  - Jatras ( Prajjwal Shakya )
              यसरी व्राह्मणको आँगनघरमा सो देबी देवताहरुको स्थाई वसोवास हुन्छ । अव व्राह्मणको दैनिकीमा अझ एक अत्यन्तै महत्वपूर्ण नयाँ कार्य भार थपीन्छ । सदा यी नयाँ देबी देवताहरुको सेवा सत्कार गर्दै नित्य पूजा अर्चना गरी प्रत्येक्ष देव दर्शन गर्ने अनि राज्यमा आई परेको आपत विपत र विभिन्न किसीमको समस्याहरुको समाधान देबी देवताहरुसंग छलफल गर्दै निकाल्ने । अव यसरी नै व्राह्मणको दिन चर्या वित्दै जान्छ ।
              तर एक दिन दैनिक जसो देबी देवताहरुलाई भेट्ने क्रममा कुराकानी गर्दा गर्दै आफुहरुलाई धेरै दिन देखि कसैले हेरी रहेको र मनमनै उस्कहाँ आउन आग्रह समेत गरेको संकेत व्राह्मणलाई देबी देवताहरुले गर्दछ, ‘‘हामीहरु यहाँ बस्छौं भन्ने कुरा यहाँ कसैले थाहा पाई सक्यो । यो कुरा अव एक कान दुई कान हुंदै मैदान हुने कुरामा अव कुनै शंकै छैन । त्यसैले तिमीले दिएको वचन उलंघन भई सक्यो अव उप्रान्त हामीहरु यहाँ मात्र वसी रहन वाध्य छैन ।” अकस्मात देबी देवताहरुको यस्तै आशयको भनाई व्राह्मणको कानमा पर्दा उस्लाई के गरुँ कसो गरुँ हुन्छ । देबी देवताहरुलाई संधै यहाँ म कहाँ नै राख्न नमिले पनि संधै यहीं भक्तपुर शहरमा नै त राख्न मिल्ला नि ? फेरि कुनै स्वार्थी तान्त्रिकले थाहा पाई लगी पहिलेको तान्त्रिकले जस्तो आफ्नो व्यक्तिगत स्वार्थको लागी मात्र निजी सम्पत्ति जस्तै व्यक्तिगत मनोरञ्जनको लागी मात्र उपयोग गरी राखे त फेरी अनर्थ हुन्छ । यस्तो सोच्दा सोच्दै उस्लाई काहाली लाग्दछ । त्यसैले यस्तो कहिल्यै नहोस् भन्ने मनसाय राख्दै यो जटिल समस्याको समाधान पनि देबी देवताहरु संग नै अन्य समस्याको समाधान निकाले जस्तै परामर्श गर्दै निकाल्ने हेतुले ऊ देबी देवताहरु समक्ष सल्लाह माग्दछ, ‘‘अव देखि तपाँई देबी देवताहरु कुनै गोप्यकोठामा मात्र सिमीत नभै , व्यक्तिगत मनोरञ्जनको लागी मात्र उपयोग गरी राख्न नमिल्ने वनाउन र सर्वसाधारणले पनि सजीलै तपाँईहरुको दर्शन गरी आफ्नो समस्याको समाधान पनि पाउने व्यवस्था गरी भक्तपुरमा नै एउटा छुट्टै स्थानको व्यवस्था गर्न पाए त धेरै नै राम्रो हुने थियो ।” आफुहरुलाई लोकहितको लागीमात्र उपयोग गरी रहेको अनुभव भएको देबी देवताहरुले व्राह्मणको यो मनसाय राम्रै संग वुझेको थियो । त्यसैले यस समस्याको पनि सदा झैं समाधान स्वरुप देबी देवताहरु भन्दछ कि ,‘‘हामीहरुले नाची रहेको धेरै दिन देखि हाम्रो भक्तीको साथ एक परीवारले अत्यन्त उत्सुकता पुर्वक हेरी रहेको छ । सोही परीवारलाई यो हामीले गरीरहेको नृत्य सिकाई, हाम्रो अनुहारको मुकुण्डो वनाई लगाई तिम्रो तन्त्र शक्तिले मोहनी लगाई, हामीहरुलाई उनीहरुको शरीरमा प्रवेश गराई दिएमा जो जो व्यक्तिले जुन जुन मुकुण्डो लगाएको हो सो सो व्यक्तिमा त्यही त्यही देबी देवताको प्रवेश भई चढ्ने र हामी सबै सार्वजनीक रुपमा उपस्थीत भई तिमीले भने जस्तै सबैको कल्याणको लागि जहाँ जहाँ हामीलाई निमन्त्रण आउँछ त्यहाँ त्यहाँ हामी आफै जानेछौं ।” देबी देवताहरुको यस्तो राम्रो लोकहितकारी उपाए सुनि खुशि हुंदै यसैलाई नै देवआज्ञा मानी सिरोपर गर्दै व्राह्मण,‘‘ को हो त त्यो परिवार ?” भनी देबी देवताहरु समक्ष जिज्ञासा राखेछ । देबी देवताहरु पनि ढोका तिर ईशारा गर्दै ‘‘ऊ त्यो प्वाल(क्वयेँ प्वाः)वाट अहिले पनि एक व्यक्तिले हामीहरुलाई हेर्दै छ ।” भन्दै देबी देवताहरु सबै त्यहाँ वाट सदाको लागी अलप भएर जान्छ । ऊ हत्त न पत्त उठी देबी देवताहरुले ईशारा गरेको ढोकालाई खोली हेर्दा त त्यहाँ ढोकाको प्वालवाट हेरी रहेको एक हुल गाठाहरु(गठु, माली, फुल ल्याउने व्यक्ति, बनमाला) लाई देख्दछ (जो दिनहुँ यस आँगनघरको लागी चाहीने फुल अनि फुलमालाहरु वनाई विहान सखारै भाले नवास्दै ल्याई पुर्याउने जिम्मा लिएको वनमाला परीवारको सदस्यहरुको हो ।) यसरी ती गाठाहरुले गोप्य पूजा कोठामा त्यसरी चियाई हेरेको देखि उस्लाई केहि मात्रामा रीस उठ्दछ र अन्जानमा नै भएपनि ती गाठाहरुले गल्ती गरकोले उनीहरुलाई हपार्दै ‘‘यहाँ किन हेरेको ? र क–कस्ले यसरी हेरेको छ त ?” भनि सोध खोज गर्दछ । उनीहरु पनि बःजु(बाजे)को क्रोधित मुहार देखि डराउँदै ,‘‘हामीहरु दिनहुँ यहाँ आई फुल ल्याउने क्रममा धेन् ऽ ऽ ऽ त्वाल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल भछिं ऽ ऽ ऽ थ्वँ , धेन् ऽ ऽ ऽ त्वाल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल भछिं ऽ ऽ ऽ थ्वँ को मधुर संगीत सुनी कहाँ वाट यो स्वर आएको हो भनी उत्सुकता वश खोज्दै जाँदा यस कोठाको क्वेँ प्वाल वाट चियाई हेर्दा देबी देवताहरुनै नाची रहेको आफुहरुले देखेको, यो कुरा आफ्नो परीवारले मात्र थाहा पाएको र अरु कसैलाई पनि थाहा नदिएको ” कुरा व्राह्मणलाई भन्दछ । ‘‘ ल तिमीहरुले नहेर्नु पर्ने कुरा हेरि सक्यौ । तिमीहरुले हेरेकोले गर्दा नै देबी देवताहरु सवै लोप भई ताधा गई सक्यो । त्यसैले अव तिमीहरु नै यो देबी देवताहरु जस्तो नाची , देवआज्ञा अनुसार आफ्नो शरीरमा देबी देवताको प्रवेश गराउन तयार होऊ । नत्र भने अब उप्रान्त यी देबी देवताहरुको दर्शन अव कसैले पनि गर्न पाउने छैन ।” भन्दै ती गाठाहरुलाई हपार्दछ । व्राह्मणको रिसाएको स्वर सुनि गाठाहरु एक छिन त डराउँदछ तर आफुहरु पनि अब देखि देबी देवताहरु हुन पाउने भएकोमा मनमनै खुशी हुंदै देबी देवताहरु वनि नाच्न उनीहरु तयार हुंदछ ।
              यस पछि उस्ले देबी देवता वनि नाच्न तयार रहेको गाठाहरु सबैलाई एक ठाउँमा जम्मा पारि देव आज्ञा वमोजिमको शिक्षा दिक्षा दिंदछ । सोही क्रममा नृत्यको प्रशिक्षण पनि सुरु हुन्छ । देबी देवताहरु सँग धेरै दिन देखि नजिकीई सकेको उस्ले देबी देवताहरुको भाव भंगी सम्झी सोही अनुसारको नृत्यहरु तयार पार्दछ ।
Photo  - Jatras

जस्मा एक ङा लाकेगु(माछा अल्झाउने)नृत्यको कथा सार यस्तो छ ।

            ‘‘ काल भैरबको दुई छोराहरु सिम्मा (सिंह) र दुम्मा (ब्याघ्र) संग मित वा स्वेत भैरव घुम्दै फिर्दै रमाईलो गर्दै रहन्छ । मित छोराहरु संग रमाउँदै डुल्दै रहेको स्वेत भैरव वादलहरु पन्छाउँदै मत्र्यलोकमा आई पुग्दछ । मत्र्यलोकको एक मनमोहक झरना भएको ठाउँमा उनीहरु पुग्दछ । त्यस झरनामा निर्धक्क नुहाई रहेकी एक षोडषी युवती चामुण्डालाई स्वेतभैरबले देख्दछ । चन्द्रमा नै धारण गरेको मुकुट लगाएको, देवता नै भएपनि आफ्नो अघिल्तीर सुन्दर युवती झरनामा नुहाई रहेको देख्दा स्वेतभैरब कामातुर भई चामुण्डालाई जिस्क्याउन पुग्दछ । आफ्नो रुप हेरी आफै डङ्ग परी मनमा अनेक कुरा खेलाई आफ्नै सुरमा निर्धक्क स्नान गरी रहेकी चामुण्डालाई अकस्मात आफ्नो अघिल्तीर कुनै नवयुवक आई जिस्काएको देखि लाजले भुटुक्कै हुन्छिन् र संग संगै साह्रै रिस पनि उठाउँछे । लाज र रिसले आगो वनि देवीले स्वेतभैरवको सेतो खास्तो लुटी आफ्नो अंग छोप्दै भाग्दछे । यस्तो देखि स्वेत भैरब चामुण्डालाई जिस्काएकोमा आफ्नो भुल स्वीकार गर्दै पैसा चढाउँदै माफी माग्दछ । तरै पनि चामुण्डा माफी नदिई तर्कि तर्कि जान्छे । अन्तमा सूर्य उदाएको अस्ताएको ज्ञान दिने कुखुराको भाले भोग दिई देवीवाट आफ्नो सेतो खास्तो फिर्ता पाउँछ । तर प्रेमले खास्तो नदिई ‘‘ ल ना त !” भन्दै झर्की भुइँमा मील्काई दिएकीले चामुण्डा अझै पनि खुशी नभएकी स्वेतभैरबलाई भान हुन्छ । त्यसैले स्वेतभैरब चामुण्डाको विशेष पूजाआजा गर्दछ । यसरी आफ्नो मित बाले कुनै नव युवतीलाई पूजा गरी हेरी रमाईलो मानी रहेको फुच्चे वच्चाहरु सिम्मा र दुम्मा आफुहरुलाई पनि सोही अनुसार पूजा गर्न अनुरोध गर्दछ । त्यस पछी आफ्नो मीत आमा ईन्द्रायणीलाई पनि सोही अनुसार पूजा गर्न लगाउँदछ । यसरी उनीहरु एक अर्का लाई पूजा गर्दै रमाउँदै वस्छ ।

              त्यस पछि स्वेतभैरब अघि चामुण्डाले भुईमा मिल्काएकीले मैलिएको आफ्ना मैलो सेतो खास्तो धुनलाई खोला तिर झर्दछ । त्यहाँ खोलामा माछाहरु पौडी रहेको देखि स्वेतभैरब सिम्मा र दुम्मालाई नचलीकन एकै ठाउँमा वसि रहन भन्दै आफु माछा मार्ने तरखर गर्दछ । फुच्चे वच्चाहरु सिम्मा र दुम्मा पनि नचलिकनै वस्दछ । तरै पनि यी वच्चाहरुले चुलबुल गरी माछा भगाई दिएको भन्दै ऊ रिसाउँछ र हपार्छन् यी निर्दोष नावालकहरुलाई । वल्ल तल्ल एउटा माछा मात्र समाउन ऊ सफल हुन्छ । वच्चाहरु सिम्मा र दुम्माले चुलबुल गरी माछा भगाई दिएकोले एउटा मात्रै माछा मार्न पाएको निहु पारी विचरा नावालकहरुलाई भागै नदिई हपार्दै आफुले मात्रै माछा पोली खान्छ । मित बाले यसरी आफुमात्र माछा पोली खाएको देखि सिम्मा र दुम्मा रिसाउँदै ,‘‘ हामीलाई एक टुक्रा पनि भाग नदिई आफुमात्र माछा पोली खाने यी मितबाको पेट दुखोस् ! छेरपटी लागोस् !! ” भन्दै धारे हात लगाउँदै मितबालाई सराप्छन् । यसरी मितछोराहरुले सरापे पछी स्वेतभैरबलाई अकस्मात पेट दुख्न थाल्छ । पेट दुखेकोले छटपटाउँदै मितआमा ईण्द्रायणीलाई तुरन्तै वोलाईदेऊ न भन्दै रोई कराई गर्न थाल्दछ । तव वालकहरु मितबालाई गिज्याउँदै खुचीङ् खुचीङ् गर्न थाल्दछ तर पेट दुखाईले मित बा अति नै छट्पटाउन थाले पछि पेटको दुखाई भगाउन यी वच्चाहरु आफ्नै वुद्धिले स्वेत भैरवको पेट दुखाई भगाउने कोशिश गर्दछ । जस अनुसार उनीहरु दुखेको पेटमा स्याबजी (
एक प्रकारको भुटेको चिउरा) छर्कदै गदैछ यसो गर्दा पनि दुखाई कम नभए पछि पेटमा काउकुती लगाउँदै मितवाको निन्याउरो अनुहारमा हाँसो ल्याउने कोशिश गर्दछ । यसरी वच्चाहरुको कच्चा बुद्धिले आफ्नो पेट दुखाई अत्यन्तै चर्केकोले ईण्द्रायणीलाई वोलाउँदछ । ईण्द्रायणी आई स्वेत भैरवको पेट दुखाई शान्त पार्ने सवै उपाएहरु गर्दछ र स्वेत भैरवको पेट दुखाई केही क्षणका नै छु मन्तर भै जान्छ । यस पछि स्वेत भैरव खुशि भई ईण्द्रायणी सँगै नाच्न थाल्दछ । यसरी उनीहरु हाँस्दै खेल्दै रमाउँदै अन्त्यमा खास्तो धोई आफ्नो घर तर्फ जाने तयारी गर्दछ । जानु अघि सम्पूर्ण यस लोक वासीहरुको सुख, शान्ति, ऐश्वर्य र अटल सौभाग्यको कामना गर्दै वादल पन्छाउँदै आफ्नो लोक तर्फ लाग्दै मर्त्यमण्डलवाट विदा हुँदछ ।”
            व्राह्मणले यस्तै यस्तै देबी देवताहरुको कथाहरुमा ती गाठाहरुलाई नृत्य सिकाउँदछ । नृत्यमा पारंगत भएपछि सहभागी सवैलाई तन्त्र सम्वन्धी आधारभुत ज्ञान दिई र एक जना नाइकेलाई यो नृत्यलाई सदाको लागी अविछीन्नरुपमा चलाई राख्नको लागी विशेष तान्त्रिक ज्ञान दिई दिक्षा दिंदछ । नृत्यको सम्पूर्ण पूर्वाभ्यासको कार्य सकीसकेपछी उस्ले एक तान्त्रिक अनुष्ठान गरी देबी देवताहरुको आह्वान गरी गाठाहरुलाई क्रममा राखि क्रमै संग ती गाठाहरुको शरीरमा मोहनी लगाई मुकुण्डो लगाई देबी देवताहरुको प्रवेश गराउँदै जान्छ । देबी देवता प्रवेश गरेका गाठाहरु आ–आफ्नै तालमा नाच्दै पहीले देबी देवताहरुले गरे जस्तै भाव भंगी देखाउन थाल्दछ । यसरी एक तान्त्रिक देबी देवताहरुको नाच ‘‘गाठा प्याखँ”को सुरुवात सार्वजनिकरुपमा उस्को आँगन घरवाट हुंदछ । सार्वजनिक भएको यी गाठा प्याखँ हेर्न दर्शनार्थीको घुइँचो लाग्दछ । गाठा प्याखँ हेरी देवदर्शन गरेकाहरुले आफ्नो दुःख, कष्ट, पीर, मर्काको समाधान पनि पाउँदै जान्छ । आफ्नो दुःख कष्ट हर्ने गाठा प्याखँको निमन्त्रण देश देशावरवाट आउँदछ । निमन्त्रण आएका सवै ठाउँहरुमा यो गाठा प्याखँ पुग्दछ । त्यस पछी राज्यले पनि यी देबी देवताहरु रहने स्थान गःछेँ र आयस्थाको लागी गुठीको व्यवस्था गर्दछ । यसरी गोप्यरुपमा रहेको यी देबी देवताहरु सार्वजनिकरुपमा श–शरीर उपस्थित भै सम्पूर्ण लोक वासीको दूःख हरणको लागी वस्ती वस्तीमा पुग्दछ ।
Photo  - Jatras


              मैले सानै देखि सुन्दै आएको यो कथा तपाँईहरुलाई कस्तो लाग्यो ? अवश्य पनि कुनै एक मायाबि फिल्मको कहानी या कुनै काल्पनिक रचना जस्तो लाग्यो होला । तर यो कुनै फिल्मको कहानी हैन नकी कुनै काल्पनिक रचना नै । यो घटनाहरु त आज भन्दा पाँच शताब्दी (पाँच सय वर्ष) अघि पन्ध्रौं शताब्दीताका राजा सुवर्ण मल्लको (ने.सं.६२१— ने.सं.६२८) समय तिर भक्तपुरमा घटेको वास्तविक घटनाको हो । हुन त यो कथा सम्पूर्णरुपमा सत्य छ भन्ने म संग कुनै बलियो आधार छैन तरैपनि यो कथामा वर्णित व्राह्मण मेरै पुर्वज भक्तपुरको तन्त्र शास्त्रको सिद्ध श्री सोम राज राजोपाध्याय, यी देबी देवताहरु काल भैरव, महाकाली(चामुण्डा), वाराही, गणेश, व्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्रायणी(वाल कुमारी), सिंहनी(सिम्मा), व्याघ्रीनी(दुम्मा), महादेव र स्वेत भैरव रहेको प्रख्यात शक्तिशाली तान्त्रिक देवता नवदुर्गा (जस्लाई कोजाग्रत पुर्णिमाको दिन राष्ट्रप्रमुखको हैसियतले हाल राष्ट्रपतिले दर्शन गर्नु पर्ने ब्यवस्था छ), गाठा प्याखँ भनेको हाल सम्म पनि प्रचलित भक्तपुरको ख्यातीप्राप्त नवदुर्गाको नाच र यस्तै यस्तै धेरै नै आधारहरु आज सम्म पनि कुनै न कुनै रुपमा अझै पनि हाम्रो सामु सांस्कृतिक रुपमा नै भए पनि जिवितै रहेकोले धेरै हदसम्म यो कथा सत्यतामा आधारीत छ ।
(नेपाल संवत ११३१ कौलागा पञ्चमी सन् 2011 October 17 सोमवारको "स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र विचारप्रधान सांस्कृतिक साप्ताहिक पत्रिका" अमलेखमा प्रकाशित "नवदुगौ नाचको किंम्वदन्ती" लेख )

विनय राजोपाध्याय


महाकाली
काल भैरव



बाराहि


गणेश
व्रह्मायणी

इन्द्रायणी
स्वेत भैरव
सिंहनी(सिम्मा)






No comments:

Post a Comment