Search This Blog

Monday, January 31, 2011

नेपालका सबै भाषाहरु नेपाली भाषा हो



हालसालै तिहार अघि एक उच्चस्तरीय राजनैतिक कार्यदलको वैठकले देवनागरी लिपीको नेपालीभाषा(?)लाई सरकारी काम काजको भाषा वनाउने सहमति गर्यो ।के यहाँ नेपाली भाषा भनेर खस भाषालाई भन्न खोजेको हो ? स्पष्ट छैन । यदि हो भने अझै पनि नेपालमा खस संप्रभुत्वता कायमै रहेको छ भन्ने प्रमाणित हुन्छ । यो लोकतान्त्रिक सरकार संग पञ्चायत कालिन मानसिकता अझै पनि वाँकि रहेछ भन्ने प्रमाणित हुन्छ । नेपालमा एउटैमात्र यस्तो भाषा छ जो आफ्नो मौलिक स्वनाममा भन्दा अन्य अरुको नाम धारण गर्दामा गर्वता महशुस गर्दछ ।
गोर्खाको राजा पृथ्वी नारायण शाहले नेपाल खाल्डो जितेर पनि वनाउन नसकेको सरकारी भाषा संवन्धी नियम नेपालमा संभवतः र्सवप्रथम सन् १९०५ तिर चन्द्र शमशेरले नेपालको अन्य भाषाहरुलाई प्रतिवन्धित गर्नका निमित्त "अव देखि अड्डा अदालतमा गोर्खा भाषा बाहेक अन्य भाषामा लेखिएको कागतपत्रलाई मान्यता दिईने छैन ।" भनी उर्दी जारी गरी वनेको थियो । राणा कालीन यो उर्दी पछि गोर्खा भाषा वाहेक अन्य भाषाले टाउको उठाउन सम्म पाएन । राज्यले अन्य भाषाहरु प्रति वक्रे दृष्टि हेर्ने प्रवृति यही वाट सुरुवाट भयो । यस पछि गोर्खा भाषाको विकासको लागी राज्यले धेरै मेहेनत गर्यो । गोर्खा भाषाको पत्रिका गार्खापत्र प्रकाशित भयो । गोर्खा भाषा प्रकाशन समिति वन्यो । देशको सम्पूर्ण काम काज गोर्खा भाषामा मात्रै भयो । अन्य भाषालाई राज्यले जगेर्ना गर्नु त कता दमन वाहेक केही पनि दिएन । १७ साल सम्म पुग्दा त यो गोर्खा भाषालाई नेपाली भाषा नै भनेर खुलेआम भन्न थालियो । एक भाषा निति अंगाल्दै अन्य भाषालाई दमन गर्नु नै त्यो वेलाको सरकारको पुरुषार्थ थियो ।
          खस प्रदेशमा उद्गम भएको यस खस भाषा समय परिष्थिती संग घुलमील हुंदै पहादी भाषा (पर्वते भाषा ) भयो । त्यस पछी शाह वंशीय गोर्खाली राजाको छत्रछायाँ पाएर गोर्खा भाषा वन्यो । नेपालको एकीकरण पछि पनि नेपाली भाषा भनाउन नसकेको यो भाषालाई राणाकालीन जहाँनिया उर्दीले नेपाली भाषा बन्यो भने पञ्चायत कालीन निरंकुश एक भाषा कुनितिले नेपाली भाषा भन्नै पर्ने बाध्यता भयो ।
नेवाः, नेपाः, नेवाल, नेपाल, नेवार यी सवै जे भने पनि हाम्रो देश नेपाललाई नै जनाउँछ । नेपाल यानेकी नेपाल मण्डलका नेवारहरुले बोल्ने भाषालाई नेपाली भाषा नभनी कसरी गोर्खा भाषा (खस भाषा) लाई मात्रै नेपाली भाषा भनियो ? प्रश्न उठाउन सकिन्छ ।हिजो पंचायत ब्यबस्था रहेको बेला नेवारहरु आफ्नो भाषाको नाम लुटिंदा आन्दोलित भए र आजित भई आफ्नो भाषालाई नेपाल भाषा सम्म भनाउन सक्षम भए । आज देशमा लोकतन्त्र आउँदा सम्म पनि यहाँका नेताहरु खस भाषालाई नै नेपाली भाषा भन्न किन रुचाउँछन् ? के यस्को मौलिक नाम नै नभएकोले त्यसो भनेको हो र ?
नेवारहरुले आफ्नो भाषालाई नेपाल भाषा भनि स्वीकारी सकेको वर्तमान अवस्थामा अव कुनै पनि एकमात्र भाषा विषेशलाई नेपाली भाषा भनेर राज्यले भन्नु हुँदैन । नेपाली भाषा भन्नाले नेपाल भित्र वोलिने सम्पूर्ण भाषालाई जनाउनु पर्दछ । जस्तै - नेपाली चार्डपर्व भन्नाले नेपाल भित्र मनाईने सम्पूर्ण चार्डपर्वहरुलाई जनाउँछ, नेपाली संस्कृति भन्नाले नेपाल भित्रको सम्पूर्ण संस्कृतिहरुलाई जनाउँछ, नेपाली जनजाति भन्नाले नेपाल भित्रको सम्पूर्ण जनजातिहरुलाई जनाउँछ, नेपाली रहनसहन भन्नाले नेपाल भित्रको सम्पूर्ण रहनसहनहरुलाई जनाउँछ कुनै एक विशेषलाई मात्रै जनाउँदैन । तर नेपाली भाषा भन्नाले किन खस भाषालाई मात्र जनाउनु पर्ने हो ? के नेपालमा वोलिने सवै अर्को भाषा गैरनेपाली हो ? विदेशी भाषा हो ? नेपाल जस्तो बृहद शब्द किन भाषामा मात्र संकुचित पारिँदैछ ?
चीनमा वोलिने भाषालाई चाईनीज भाषा भनिन्छ तर चाईनिज भाषा भन्ने वितिक्कै कुनै एक मात्र भाषालाई जनाउँदैन मेण्डेरिन वा क्यान्तोनिज वा अन्य कुन भाषा हो फेरी छुट्याउनु पर्छ । भारत(इण्डीया)मा वोलिने भाषालाई भारतिय भाषा वा इण्डीयन भाषा भनेर भनिन्छ तर भारतिय वा इण्डीयन भाषा भन्ने वितिक्कै कुनै एक मात्र भाषालाई जनाउँदैन हिन्दि वा मराठी वा गुजराती वा अन्य कुन भाषा हो फेरी छुट्याउनु पर्छ । तर यहाँ नेपाली भाषा भन्नाले खस भाषा मात्र किन जनाउँछ ? यो एकदमै संकुचित मानसिकताको उपज हो । यस्लाई वर्तमान लोकतान्त्रिक सरकारले परिवर्तन गर्न सक्नु पर्छ । नेपाली भाषा भन्नाले नेपाल भित्र वोलिने सम्पूर्ण भाषा मगर, तमाङ्ग, नेवार, मैथली, भोजपुरी......इत्यादी सबै भाषालाई जनाउनु पर्दछ । सबै भाषाले आफ्नो मोलिक नाममा गर्व महसुस गर्नसक्नु पर्दछ । यो नै लोकतान्त्रिक मान्यताको आदर्श हो ।
नेपाल भित्रको सम्पूर्ण भाषा, लिपी नेपालको संपत्ति हो । यस्को संरक्षण सम्बर्दन गर्नु राज्यको कर्तब्य हो । यदि राज्यले कसैलाई काखा कसैलाई पाखा गर्छ भने लोकतन्त्रको उपहास हुने छ । नेपाल जस्तो वहुभाषिक, वहु लिपि भएको देशमा कुनै एकमात्र भाषालाई, कुनै एक मात्र लिपिलाई मात्र सरकारी मान्यता दिएर अरुलाई लत्याउन हुदैन, सवैलाई समान अवसर दिनु पर्दछ । 
(पुनश्चः खस नेपाली भाषालाई होच्याउने यस लेखको आशय होईन - संपादक अमलेख साप्ताहिक)
यो लेख प्रत्येक सोमवार प्रकाशितहुने स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र विचार प्रधान सांस्कृतिक पत्रिका अमलेख साप्ताहिकको November 15, 2010को अंकमा प्रकाशित भइसकेको लेख हो।
कुनै एक मात्र भाषालाइ नेपाली भाषा भनेर संवोधन गर्न पाइंदैन
खस (नेपाली)
नेवार (नेपाली)
मगर (नेपाली)
गुरुङ्ग (नेपाली)........ भनी संवोधन गर्नु पर्छ
धन्यवाद...!!
*

1 comment:

  1. कुनै एक मात्र भाषालाइ नेपाली भाषा भनेर संवोधन गर्न पाइंदैन पाइंदैन पाइंदैन

    ReplyDelete